Birgunj News24
नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला।

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु करिब १६ घण्टापछि प्रहरीले सकुशल फेला पारेको छ। शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी एक महिलालाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा इनर्वाकी सबिना खातुन रहेको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए। उनका अनुसार घटना सार्वजनिक भएलगत्तै प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।

रातभर गरिएको खोजीपछि सोमबार बिहान शिशुसहित खातुनलाई नियन्त्रणमा लिइएको हो।अहिले नवजात शिशु र पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

शिशु चोरी गर्नुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। जन्मिएको करिब एक दिनमै शिशु अस्पतालबाट गायब भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो।

अस्पतालमा रहेका शिशुको हजुरआमासँग एक महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन्। हजुरआमाले बच्चा ती महिलाको हातमा दिएपछि उनी शिशुसहित अस्पतालबाट बाहिरिएकी थिइन्।महिला लामो समयसम्म नफर्किएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले अस्पतालमा रहेको विवरण, सम्भावित आवतजावतको क्षेत्र तथा अन्य सूचनाका आधारमा खोजी अघि बढाएको थियो।लगातारको खोजीपछि अन्ततः इनर्वाबाट शिशुसहित महिला पक्राउ परेपछि परिवारले राहतको महसुस गरेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update