Birgunj News24
विपद् प्रभावितको उद्धार तथा राहतका लागि वीरगन्ज हेल्थ केयर अस्पतालको १० लाख सहयोग।

वीरगन्ज । बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ।
अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीका अनुसार शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत रकम कोषमा हस्तान्तरण गरिएको हो।
बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अस्पतालले शोकमा रहेका परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।
अध्यक्ष अन्सारीले प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत र उद्धार उपलब्ध गराउन सरकारसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था तथा सर्वसाधारणको समेत भूमिका महत्वपूर्ण हुने बताए।
उनका अनुसार विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला मानवीय दायित्व पूरा गर्ने उद्देश्यले अस्पतालले आफ्नो तर्फबाट सहयोग गरेको हो। प्रभावितको खोजी तथा उद्धार, उपचार र पुनःस्थापनामा राज्यका प्रयासलाई निजी क्षेत्रबाट समेत साथ दिनुपर्ने उनको भनाइ छ।
अस्पतालले आगामी दिनमा पनि विपद् प्रभावितको उपचार तथा अन्य मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update