Birgunj News24
गरिमा चौधरी हत्या प्रकरणमा सहमति, चार दिनपछि सिमराको सडक खुल्यो।

वीरगञ्ज– तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि बन्द रहेको सिमराको सडक आइतबार बिहानदेखि सामान्य अवस्थामा फर्कन थालेको छ ।

वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि सडकमै टेन्ट टाँगेर बुधबार बिहानदेखि स्थानीयबासी र मृतकका परिवारले गरेको आन्दोलनका कार्यक्रम शनिबार रातिदेखि फिर्ता भएपछि आइतबार बिहानैदेखि गाडीहरू चल्न थालेका छन् ।

आन्दोलनका कारण रोकीएका मालबाहक सवारीहरू रातिनै गन्तव्यतर्फ लागेका छन् भने आइतबार बिहानबाट लामो तथा छोटो दुरीका यात्रुबाहक तथा मालवाहक सवारीहरू निर्वाध चल्न थालेका छन् ।

गत आइतबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरी घरबाटै बेपता भएकी थिइन् भने उनको शव दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा हत्या गरेर राखिएको अवस्थामा बरामद भएको थियो ।

गरिमाको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले सोही राति स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । मृतक बालिकाका छिमेकीहरूकै हत्यामा संलग्न रहेको तथ्य बाहिरिएपछि बुधबार बिहानदेखि स्थानीयले नाबालिका बलात्कार र हत्यामा संलग्नहरूलाई फाँसी दिनुपर्ने लगायतका माग अघि सार्दै सडक संघर्ष गरेका थिए ।

शनिबार दिउँसोसम्म गरिमाको न्यायका लागि भएको संघर्ष देशव्यापी बन्दै गएपछि गृहमन्त्री सुदन गुरुङको आह्वानमा वार्ताका लागि मृतकका आमा मानमती चौधरी र बाबु मनोज चौधरीलाई काठमाडौं लगिएको थियो ।

गृह मन्त्रालयमा मध्यराति तीन बुँदे सहमति भएपछि सडक खुलेको हो । वार्ताका लागि मृतकका परिवार काठमाडौं गए पनि स्थानीयबासीले राति अबेरसम्म सडकमा धर्ना छाडेका थिएनन् ।

काठमाडौं गए पनि स्थानीयबासीले राति अबेरसम्म सडकमा धर्ना छाडेका थिएनन् ।

काठमाडौंमा मृतकका परिवारसँग गृह मन्त्रालयमा सहमति भएको जानकारी पछि राति १ बजे स्थानीयले सडक छाडेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update