Birgunj News24
मधेशमा लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारीको काज फिर्ता।

वीरगञ्ज । मधेश प्रदेश सरकारले विभिन्न सरकारी कार्यालय तथा अस्पतालमा लामो समयदेखि काजमा कार्यरत १४ जना स्वास्थ्य अधिकारीलाई दरबन्दी कायम रहेको कार्यालयमा फिर्ता गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूलाई दरबन्दीअनुसार सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। लामो समयसम्म एउटै कार्यालयमा काजमा रहने प्रवृत्ति अन्त्य गर्दै जनशक्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

काज फिर्ता हुनेमा जनकपुरस्थित प्रादेशिक अस्पतालमा कार्यरत विभिन्न विशेषज्ञ चिकित्सकहरू पनि रहेका छन्। उनीहरूलाई गौर, मलंगवा, कलैया, सिरहा, जलेश्वरलगायतका अस्पतालमा दरबन्दीअनुसार खटाइएको छ।

प्रदेश सरकारका अनुसार यस निर्णयले जिल्लागत रूपमा स्वास्थ्य जनशक्ति व्यवस्थापन हुनुका साथै विभिन्न जिल्लामा स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update