वीरगञ्ज– जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बिहीबार राती सरोकारवाला निकाय र स्थानीय प्रतिनिधिहरूबीच पाँच बुँदे सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा बसेको वार्तामा पीडित परिवारका प्रतिनिधि, नगर प्रमुख राजन पौडेल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।
वार्तामा पीडित परिवारको लागि उचित राहत र रोजगारीको व्यवस्थापन गर्न स्थानीय तहसमेतको सहभागितामा नेपाल सरकार गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने, घटनामा संलग्न आरोपीहरू हिरासतमा रहेता पनि अनुसन्धानका क्रममा अन्य थप दोषीहरू देखिएमा नियमानुसार कडा कारबाही गर्ने, जिल्लाको वर्तमान र भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण तथा पुनरावलोकन गरी भरपर्दो र विश्वसनीय सुरक्षाको प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने, जिम्मेवार प्रहरी अधिकृतको सरुवालगायतको विषयमा सहमति भएको थियो। वार्तामा भएको सहमतिबारे उपप्रमुख अधिकारीले सडकमा धर्ना बसेकाहरूलाई जानकारी गराएका थिए।
तर मृतक बालिकाका बुवा मनोज र आमा मनमतीले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको भन्दै सडक छोड्न अस्वीकार गरेका छन्। उनीहरुले आफूहरुलाई वार्ताको विषयमा थाहा नभएको प्रतिक्रिया दिएका छन्। पीडित परिवारले दोषीलाई आफूहरूलाई बुझाउनुपर्ने, प्रधानमन्त्री, गृहमन्त्री, कानूनमन्त्री उपस्थित भई सुनिश्चितता दिनुपर्ने माग राखेका छन्।
परिवारले प्रदर्शन जारी राखेका कारण सहमतिपछि पनि मंगलबार बिहान ११ बजेदेखि अवरुद्ध बनेको पथलैया(वीरगन्ज सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा सयौं मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।


