Birgunj News24
वीरगन्ज बाल सुधार गृहबाट १७ वर्षीय किशोर चार दिनदेखि फरार, प्रहरीद्वारा खोजी जारी।

वीरगन्ज– वीरगन्ज ४ विर्तनस्थित बाल सुधार गृहबाट लागुऔषध कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशोर फरार भएका छन्। चार दिनदेखि फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको भएपनि फेला पार्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार गत मंगलबार बिहान करिब साढे ५ बजेतिर १७ वर्षीय ती किशोर सुधार गृहको झ्यालबाट हाम फालेर फरार भएका हुन्।

प्रहरीका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिपट्टिको झ्यालबाट उनी बाहिरिएका थिए। लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि उनलाई बाल सुधार गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।

अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई सुधार गृहमा ल्याइएको थियो। सर्लाहीको गोडैता नगरपालिका घर भएका ती किशोर फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरे पनि हालसम्म फेला पार्न नसकेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update