वीरगञ्ज, ४ भदौ आनन्द पटेल । परवानीपुर गाउँपालिकाका बासिन्दालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परवानीपुर गाउँपालिका र एलएस अस्पताल एन्ड मेडिकल कलेज रिसर्च सेन्टरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार गाउँपालिकाका बासिन्दाले एल.एस अस्पतालबाट ओपीडी परामर्श, अस्पताल भर्ना तथा उपचार, फार्मेसी लगायतका सेवामा सहुलियत प्राप्त गर्नेछन्। अस्पतालले ओपीडी परामर्श शुल्क १०० रुपैयाँ मात्र लिने तथा अस्पताल भर्ना र उपचार सम्बन्धी सम्पूर्ण बिलमा इम्प्लान्ट बाहेक २० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, फार्मेसीका इम्प्लान्ट बाहेकका सामग्रीमा १० प्रतिशत छुट, स्वास्थ्य शिविर निःशुल्क तथा संयुक्त रूपमा सञ्चालन गर्ने र विशेष स्वास्थ्य प्याकेज आपसी सहमतिमा उपलब्ध गराउने व्यवस्था सम्झौतामा गरिएको छ।
सम्झौतामा अस्पतालका तर्फबाट होस्पिटल डाइरेक्टर डा. अर्जुन पटेल र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनिष मिश्र लगायतको उपस्थिति थियो।
सम्झौता स्वास्थ्य सेवामा आर्थिक पहुँच कमजोर भएका स्थानीय बासिन्दाका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष कुर्मीले बताए। उनले सम्झौतापछि गाउँपालिकाका नागरिकले उपचारका लागि सहज पहुँच पाउनुका साथै तुलनात्मक रूपमा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्ने बताए।
गाउँपालिका र अस्पतालबीचको सहकार्यले स्थानीयस्तरमै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौता अनुसार स्वास्थ्य शिविर तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रम समेत संयुक्त रूपमा सञ्चालन गरिने जनाइएको छ।


