Birgunj News24
उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो।

वीरगञ्ज, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी सहित पाँच जना घाइते भएका छन्।

दुर्घटनामा घाइते मध्ये न्यायाधीश डाँगी सहित चार जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं स्थित छाउनी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार हेलिकप्टर मार्फत न्यायाधीश डाँगी, अदालतका रजिष्ट्रार तारादत्त बडू, उनका छोरा रितेन्द्र बडू र छोरी रिता बडूलाई काठमाडौं पठाइएको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ घर भएका ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा रजिष्ट्रार बडूकी श्रीमती लक्ष्मी बडू पनि घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ का छुनिलाल चौधरीसमेत घाइते भएका छन्। रजिष्ट्रार बडू र चालक चौधरीको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजे काठमाडौंबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी–६ को जुरिखेतमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि प्रहरीले घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि अस्पताल पुर्‍याएको थियो। गम्भीर घाइतेलाई थप उपचार आवश्यक देखिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update