मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गाडीमा सवार २ जना महिला र ४ जना पुरुष घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ भने उनीहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित ७ जनाको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ।
दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


