पोखरिया । पोखरिया नगरपालिका–९, शिव बर्वा पटवारीटोलस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति चयन भएको छ। विद्यालयमा आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। पोखरिया नगरपालिका–९ का वडा अध्यक्ष नौशाद आलमको अध्यक्षतामा सम्पन्न भेलाले नयाँ व्यवस्थापन समिति चयन गरेको हो।
भेलामा पोखरिया नगरपालिकाको शिक्षा महाशाखाका श्रीलालकुमार पटेल, वडा अध्यक्ष नौशाद आलम, विद्यालयका प्रधानाध्यापक रामबाबु प्रसाद चौहान, आमन्त्रित सदस्य हरिदर्शन त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।
अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा रामनारायण ठाकुर हजाम र मिश्री शाह कानुलाई चयन गरेको छ। त्यसैगरी महिला सदस्यतर्फ गुलाबी देवी पण्डित र रामपती देवी पटेल चयन भएका छन्।विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा विद्यालय र अभिभावकबीचको समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ समिति चयन गरिएको बताइएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भने आगामी बैठकबाट चयन गरिने जनाइएको छ। नयाँ समितिले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ।


