वीरगञ्ज । नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढी मूल्यको दलहन आयात भएको छ। भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी (राज्मा), चना, रहर, केराउ र बकुल्लालगायतका गेडागुडी नेपाली बजारमा भित्रिएका हुन्।
वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १० करोड २७ लाख किलो दलहन आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा १० करोड १९ लाख किलो दलहन आयात भएको थियो। यस आधारमा एक वर्षमा दलहनको आयात परिमाण ८ लाख किलोले बढेको देखिन्छ।
तर, परिमाण बढे पनि आयातमा खर्च भएको रकम भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको दलहन आयात भएकोमा गत वर्ष यो रकम घटेर १० अर्ब २२ करोड रुपैयाँमा सीमित भएको हो। अर्थात् आयात रकम करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको छ।
दलहनको आयात परिमाण बढ्दा पनि कुल रकम घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय तथा भारतीय बजारमा यसको मूल्यमा आएको गिरावट रहेको देखिन्छ। तथ्यांकअनुसार अघिल्लो वर्ष प्रतिकिलो औसत १०८ रुपैयाँ ४० पैसा परेको दलहन गत वर्ष औसत ९९ रुपैयाँ ५० पैसामा आयात भएको छ। यसले औसत आयात मूल्यमा करिब ८ प्रतिशत गिरावट आएको देखाउँछ।
वस्तुगत विवरण हेर्दा मुसुरो, सिमी (राज्मा) र रहरको आयात रकम घटेको छ भने चनाको आयात बढेको छ। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी ४ अर्ब २१ करोड रुपैयाँ बराबरको ४ करोड ६४ लाख किलो मुसुरो आयात भएको छ। त्यस्तै, २ अर्ब ६५ करोड रुपैयाँ बराबरको २ करोड १५ लाख किलो सिमी (राज्मा) आयात भएको भन्सारको तथ्यांक छ।
नेपालको आन्तरिक उत्पादनले दलहनको बढ्दो माग धान्न नसक्दा भारत तथा तेस्रो मुलुकमा निर्भरता कायम रहेको छ। देशमा खपत हुने दलहनको ठूलो हिस्सा वीरगञ्ज नाकाबाटै भित्रिने गरेको छ।
आयात परिमाणमा भएको वृद्धिले नेपाली बजारमा दलहनको माग अझै उच्च रहेको संकेत गरेको छ। दैनिक उपभोगको अत्यावश्यक खाद्यवस्तु भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजार तथा उपभोक्ताको दैनिक खर्चमा पर्ने गरेको छ।


