Birgunj News24
नारायणी अस्पतालको निःशुल्क भोजन शिविरलाई गौतम समाज कल्याण संस्थाको ३२ हजार सहयोग।

वीरगञ्ज । श्रीपुरस्थित गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरका लागि ३२ हजार रुपैयाँ सहयोग गरेको छ।

वीरगञ्ज समाजसेवाद्वारा सञ्चालित भोजन शिविरमा एक दिनको सम्पूर्ण भोजन खर्चबापत संस्थाले उक्त रकम सहयोग गरेको हो। गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्रीले ३२ हजार रुपैयाँको चेक वीरगञ्ज समाजसेवाका महासचिव प्रकाश बाहेतीलाई हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्तालगायत पदाधिकारी तथा गौतम सेकेन्ड्री स्कूलका विद्यार्थी, शिक्षक र एनसीसीका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका सौराज प्रधानले सामाजिक सेवाको भावनाबाट प्रेरित भएर संस्था तथा विद्यालयले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि गर्दै आएको बताए। विद्यालयको ५०औँ वर्षगाँठको अवसरमा अब हरेक महिना निःशुल्क भोजन खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट दैनिक बिरामीका कुरुवा, उपचारका लागि आएका सेवाग्राही तथा आर्थिक रूपमा विपन्न र आवश्यकतामा रहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। सहयोग गरिएको दिनको भोजन सेवाबाट करिब ४ सयदेखि ५ सय जनाले सेवा लिएको जनाइएको छ।

गौतम समाज कल्याण संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update