Birgunj News24
“प्रहरीको काम कसैलाई खुसी पार्नु होइन, कानुन कार्यान्वयन गर्नु हो" एसपी भट्टराई 

वीरगञ्ज, २९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक पवन भट्टराईले पर्साको शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन्।

प्रहरी सेवामा लामो अनुभव बटुलेका भट्टराईले आफूले प्रहरीको पेशागत जिम्मेवारीबाहेक अरू कुरा नजानेको स्पष्ट पार्दै आफ्नो ध्यान  “पुलिसिङ्ग” मै केन्द्रित रहने बताएका हुन्। यद्यपि, प्रहरीको काम गर्ने शैली भने ठाउँ, परिस्थिति र अपराधको प्रकृतिअनुसार फरक हुनुपर्ने उनको बुझाइ छ।

“मैले पुलिसिङ्ग मात्र जानेको छु। तर काठमाडौंको पुलिसिङ्ग र तराईको पुलिसिङ्ग निकै फरक छ,” भट्टराईले भने।

उनका अनुसार प्रहरीको आधारभूत जिम्मेवारी देशभर एउटै भए पनि अपराधको स्वरूप, सामाजिक संरचना, जनघनत्व, भौगोलिक अवस्था, सीमा क्षेत्र र नागरिकका अपेक्षाअनुसार सुरक्षा रणनीति परिवर्तन गर्नुपर्छ। यही यथार्थलाई आधार बनाएर पर्साको प्रहरी परिचालन र सुरक्षा रणनीति अघि बढाउने उनको भनाइ छ।

काठमाडौंमा काम गर्दाको अनुभवलाई पर्साको परिवेशसँग जोडेर अघि बढ्नुपर्ने भट्टराई बताउँछन्। काठमाडौंमा भीड व्यवस्थापन, ट्राफिक, चोरी, ठगी, साइबर अपराध, प्रदर्शन तथा सार्वजनिक सुरक्षा प्रमुख चुनौतीका रूपमा रहने भए पनि सीमावर्ती जिल्लामा अपराधको स्वरूप थप जटिल हुने उनको बुझाइ छ।

पर्सा नेपाल–भारत सीमासँग जोडिएको र वीरगञ्ज मुलुककै प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र भएकाले यहाँको सुरक्षा चुनौती बहुआयामिक छ। खुला सीमाका कारण हुने अवैध ओसारपसार, तस्करी, लागुऔषध कारोबार, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौती हुन्।

“ठाउँ फरक भएपछि चुनौती फरक हुन्छन्। चुनौती फरक भएपछि पुलिसिङ्ग गर्ने तरिका पनि फरक हुनुपर्छ,” उनले बताए।

एसपी भट्टराईले अपराध नियन्त्रणका लागि प्रहरीको उपस्थिति मात्रै पर्याप्त नहुने बताएका छन्। अपराध हुनुअघि नै सम्भावित जोखिम पहिचान गर्ने, सूचना संकलन गर्ने र त्यसका आधारमा प्रहरी परिचालन गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

विशेषगरी सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि सूचना संकलन र अनुसन्धानलाई प्राथमिकता दिने उनले बताएका छन्। कानुन उल्लंघन गर्ने जोसुकै भए पनि प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउने उनको प्रतिबद्धता छ।

अपराध अनुसन्धानलाई प्रमाणमा आधारित र व्यावसायिक बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्। कुनै घटनामा दोषीलाई कानुनी दायरामा ल्याउँदा प्रमाण र अनुसन्धानलाई प्राथमिकता दिने तथा निर्दोष व्यक्तिमाथि अनावश्यक दबाब नपर्ने गरी प्रहरी परिचालन गर्ने उनको भनाइ छ।

पर्साको सुरक्षा चुनौतीमध्ये लागुऔषध कारोबारलाई पनि एसपी भट्टराईले प्राथमिकतामा राखेका छन्। सीमावर्ती क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणसँगै युवा पुस्तालाई यसको असरबाट जोगाउन प्रहरी कारबाहीसँगै जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको धारणा छ।

त्यस्तै, राजस्व चुहावट तथा गैरकानुनी रूपमा हुने वस्तुको ओसारपसार नियन्त्रणमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर अघि बढ्ने उनले बताएका छन्।

उनका अनुसार सीमा सुरक्षा र सीमावर्ती अपराध नियन्त्रण प्रहरीको एक्लो प्रयासबाट सम्भव हुँदैन। जिल्ला प्रशासन, सशस्त्र प्रहरी, भन्सार, स्थानीय तह, नागरिक समाज, व्यवसायी तथा स्थानीय समुदायसँगको समन्वय आवश्यक हुन्छ।

एसपी भट्टराईले नागरिकमैत्री प्रहरी सेवामा पनि विशेष जोड दिएका छन्। प्रहरी कार्यालयमा आउने नागरिकले आफ्ना समस्या सहज रूपमा राख्न सक्ने वातावरण निर्माण गर्ने उनको भनाइ छ।

प्रहरी र नागरिकबीच विश्वासको सम्बन्ध बलियो नभएसम्म अपराध नियन्त्रण प्रभावकारी हुन नसक्ने उनले बताए। अपराध अनुसन्धानदेखि शान्ति–सुरक्षा कायम गर्ने कामसम्म नागरिकको सूचना र सहयोग महत्वपूर्ण हुने भएकाले प्रहरी नागरिकसँग नजिक भएर काम गर्नुपर्ने उनको धारणा छ।

प्रहरीप्रति नागरिकको धारणा सुधार्न प्रहरी कर्मचारीकै व्यवहारमा परिवर्तन आवश्यक रहेको उनले बताएका छन्। नागरिकसँग सम्मानजनक व्यवहार गर्ने, पीडितको कुरा ध्यानपूर्वक सुन्ने, गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने तथा कानुनअनुसार निष्पक्ष निर्णय गर्ने अभ्यासले प्रहरीप्रतिको विश्वास बढाउने उनको बुझाइ छ।

भट्टराईले प्रहरी संगठनभित्र व्यावसायिकता, अनुशासन र जिम्मेवारीबोधलाई उच्च प्राथमिकता दिने बताएका छन्। प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति इमानदार र जवाफदेही भए मात्र संगठन प्रभावकारी बन्ने उनको भनाइ छ।

अपराध नियन्त्रणका नाममा कानुनको सीमा नाघ्ने वा प्रहरी आचरणविपरीतका गतिविधिलाई स्वीकार गर्न नसकिने उनले स्पष्ट पारेका छन्। कानुन कार्यान्वयन गर्ने प्रहरी आफैं कानुनप्रति उत्तरदायी हुनुपर्ने उनको धारणा छ।

प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थभन्दा संगठनको जिम्मेवारी र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ। प्रहरीमाथि आउने विभिन्न प्रकारका दबाबभन्दा कानुनी जिम्मेवारीलाई प्राथमिकता दिइने उनले बताएका छन्।

“प्रहरीको काम कसैलाई खुसी पार्नु होइन, कानुन कार्यान्वयन गर्नु हो,” भट्टराईको भनाइ छ।

वीरगञ्ज मुलुककै प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र भएकाले यहाँको सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायी, यातायात व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यलाई पनि भट्टराईले महत्वपूर्ण मानेका छन्।

व्यापारिक गतिविधि सहज हुने वातावरण निर्माणसँगै गैरकानुनी गतिविधिमाथि निगरानी बढाउनुपर्ने उनको बुझाइ छ। यसका लागि जिल्ला प्रशासन, स्थानीय तह, सरकारी कार्यालय, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने उनले बताएका छन्।

एसपी भट्टराईको कार्यशैलीमा अपराध नियन्त्रणसँगै नागरिकको प्रहरीप्रतिको विश्वासलाई महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ। प्रहरीको सफलता पक्राउ र कारबाहीको संख्याले मात्रै मापन

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update