२८ साउन, काठमाडौं । दीर्घकालीन आपूर्ति शृङ्खलाको व्यवस्थापनमा भएको लापर्वाही र समयमै खरिद प्रक्रिया अघि नबढ्दा देशभर जीवनरक्षक तथा अत्यावश्यक औषधिको चरम अभाव देखापरेको छ ।
सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’, क्यान्सर उपचारका लागि अत्यावश्यक ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ जस्ता संवेदनशील औषधिको सहज आपूर्ति हुन नसक्दा बिरामीहरू मारमा परेका छन् भने यस गम्भीर स्वास्थ्य सङ्कटप्रति स्वास्थ्य मन्त्रालय उदासीन बनेको सरोकारवालाहरूको गुनासो छ। देशभरका अस्पतालमा सर्पदंशविरुद्धको खोपको अभाव भएपछि नारायणी अस्पताल लगायतले उपचार प्रभावित भएको सूचना जारी गरेका छन् भने मन्त्रालयले रिभर्स पुलिङु जस्ता अस्थायी उपाय मात्र अपनाएको छ ।
त्यस्तै, १२ देखि १८ वर्ष पुरानै न्यूनतम मूल्यसूचीका आधारमा खरिद गर्नुपर्ने बाध्यता र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण क्यान्सरका औषधिहरू समेत पाउन छाडिएको छ भने मूल्य समायोजनको विषय अझै अन्योलमा छ ।
अर्कोतर्फ, पर्याप्त बजेट अभाव र खोपको अपर्याप्तताका कारण पछिल्लो दुई महिनामा जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु भइसकेको छ र जोखिमयुक्त क्षेत्रमा समयमै खोप पुर्याउन कठिनाई उत्पन्न भएको छ । यस विषम परिस्थितिमा औषधिको अभावले बिरामीको जीवन जोखिममा पर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले बजारमा अभाव रहेका औषधिको विवरण नियमित रूपमा सङ्कलन गर्ने प्रक्रिया अघि बढाएको छ ।
विभागले अस्पताल, स्वास्थ्य संस्था तथा सरोकारवालाहरूलाई १० दिनभित्र बजारमा पाउन नसकिएका औषधिको यथार्थ विवरण उपलब्ध गराउन अनुरोध गरेको छ भने मन्त्रालयले प्लाटिनम वर्गका औषधिहरू सरकारी स्तर (जी–टु–जी) बाट खरिद गर्ने तयारी भइरहेको र छिट्टै आपूर्ति सहज हुने जनाएको छ ।


