Birgunj News24
उत्साहजनक सहभागिताबीच लायन्स म्याराथन प्रतियोगिता सम्पन्न।

वीरगञ्ज, साउन २७ । स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोपैक, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम र लियो क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा आज वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजका विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वीरगञ्जको घण्टाघरबाट सुरु भइ रेल्वेरोड हुँदै अमर चौक पुगि पुनः घण्टाघरमा समापन भएको प्रतियोगितामा सहभागी धावकहरूले उत्साह र प्रतिस्पर्धात्मक भावनाका साथ दौड पूरा गर्दै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथन जस्ता कार्यक्रमले युवालाई खेलकुद र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियोे ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवासँगै स्वास्थ्य, युवा तथा खेलकुदका क्षेत्रमा समेत निरन्तर गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले म्याराथनले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवामा अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।
वक्ताहरूले नियमित व्यायाम र शारीरिक सक्रियता स्वस्थ जीवनको आधार भएको बताउँदै युवाहरूलाई खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए । म्याराथनजस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको चेतना फैलाउनुका साथै युवालाई सकारात्मक र रचनात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने उनीहरूको भनाइ थियो ।
प्रतियोगितामा पुरूषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम, बिपिएस कलेजका विक्की कुमार यादव द्वितीय र सोही कलेजका अर्जुन कुमार तृतीय भएका थिए, त्यसैगरी महिलातर्फ बिपिएस कलेजकी उमा कुमारी शर्मा प्रथम, हरिखेतान कलेजकी पुष्पा कुमारी गुप्ता द्वितीय र सोही कलेजकी आशा कुमारी साहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । सहभागी धावकहरूले प्रतियोगिता उत्साहजनक र प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा प्रसाद कानुको नेतृत्वमा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफद्वय लायन आश्मा सिंह यादव, लायन विजय गुप्ता, एरिया चिफ लायन सुनिल कुमार गुप्ता, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुशीला साह, क्याबिनेट अफिसरद्वय लायन रितिका जैसवाल, लायन पीयूष दारूका, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक चन्द्रकान्त पौडेल, जनपद प्रहरीका प्रहरी निरिक्षक पदम पाण्डे, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उत्साहपूर्ण सहभागिता र सफल व्यवस्थापनका साथ सम्पन्न लायन्स म्याराथनले “स्वस्थ समाज, सक्रिय युवा र सामाजिक सेवा” को सन्देशलाई प्रभावकारी रूपमा प्रवाह गर्दै वीरगञ्जमा खेलकुद तथा सामाजिक सेवाको क्षेत्रमा सकारात्मक ऊर्जा थपेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update