Birgunj News24
कालिमाटी प्रहरीद्दारा कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख रुपैयाँ बरामद, फलफूल पसल सञ्चालक पक्राउ।

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहा रहेका छन्। उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनको फलफूल पसल तथा डेरामा छापा मार्दा स्रोत नखुलेको रकम बरामद गरेको हो।प्रहरीका अनुसार फलफूल पसलबाट मात्रै १० लाख ७० हजार रुपैयाँ बरामद भएको छ भने बाँकी रकम उनको डेराबाट बरामद गरिएको हो। बरामद रकमको गणना तथा यकिन गर्ने कार्य भइरहेको काठमाडौंका प्रहरी अधिकारीले बताएका छन्।प्रहरीले उनको डेराबाट ३ लाख ४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको जनाएको छ।बरामद भएको रकमको स्रोत तथा घटनाको अन्य पक्षबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।साभार :- क्राइम रिपोर्ट 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update