वीरगञ्ज, साउन २६
वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पले टोकेपछि लगाइने एन्टिस्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) उपलब्ध नभएको जनाइएको छ।
अस्पतालले साउन २५ गते जारी गरेको सूचनामार्फत सर्पदंश विरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम अस्पतालमा हाल उपलब्ध नरहेको जानकारी गराएको हो।
नारायणी अस्पताल प्रशासनका अनुसार तालुक कार्यालयबाट उक्त औषधि हाल उपलब्ध नभएकाले अस्पतालमा एन्टिस्नेक भेनमको अभाव भएको हो। अस्पतालले आवश्यक औषधि उपलब्ध नभएको भन्दै बिरामी तथा सर्वसाधारणलाई जानकारी गराएको छ।
पर्सा, बारा, रौतहटलगायतका क्षेत्रमा पछिल्लो समय सर्पदंशका बिरामीको संख्या बढ्दै गएको अवस्थामा नारायणी अस्पतालमै सर्पदंश विरुद्धको औषधि उपलब्ध नहुनुले थप समस्या निम्त्याउन सक्ने देखिएको छ।
सर्पदंशपछि समयमै एन्टिभेनम उपलब्ध गराउन नसक्दा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने भएकाले अस्पतालमा तत्काल एन्टिस्नेक भेनमको व्यवस्था गर्नुपर्ने माग उठेको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बिरामीका लागि सरकारी अस्पतालमै आवश्यक औषधि उपलब्ध नहुँदा थप समस्या हुने अवस्था देखिएको छ।
सर्पदंशका घटना बढिरहेको समयमा नारायणी अस्पतालमा एन्टिस्नेक भेनमको तत्काल व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य निकायले पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। समयमै औषधि उपलब्ध नहुँदा सामान्य उपचारबाट ज्यान जोगाउन सकिने बिरामीले अकालमै ज्यान गुमाउने अवस्था आउन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने स्थानीयको माग छ।


