वीरगञ्ज, २६ साउन । मिनी ल्याण्ड स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। एलाईड युथ सोसाइटी वीरगञ्जको आयोजनामा विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुनप्रसाद सोडारीले विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा सोडारीले सडकमा हिँड्दा तथा सवारीसाधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतको पालना, हेल्मेटको अनिवार्य प्रयोग, तीव्र गतिमा सवारी नचलाउनेलगायतका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो। उहाँले ट्राफिक सचेतना सडक दुर्घटना न्यूनीकरणको महत्वपूर्ण आधार रहेको बताउनुभयो।
सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी उमेरदेखि नै ट्राफिक नियमबारे सचेत हुनुपर्नेमा जोड दिँदै सोडारीले आफूले सिकेका कुरा परिवार, साथीभाइ तथा समुदायसम्म पुर्याउन पनि विद्यार्थीलाई आग्रह गर्नुभयो।
एलाईड युथ सोसाइटीका आयुष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोसाइटीका टिम बोर्ड सदस्य अभिमन्यु झाको उपस्थिति रहेको थियो। कार्यक्रममा सोसाइटीका संस्थापक ओमकुमार झाको विशेष उपस्थिति रहेको थियो।
विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले विद्यार्थीमा सडक सुरक्षा र जिम्मेवार यातायात व्यवहारसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
एलाईड युथ सोसाइटी वीरगञ्जले आगामी दिनमा पनि युवामाझ विभिन्न सचेतनामूलक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


