वीरगञ्ज, २६ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगद सहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर स्थित क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार बरामद रकम मध्ये १ हजार रुपैयाँ दरका ४००५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय रुपैयाँ दरका २३५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय रुपैयाँ दरका ६४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० रुपैयाँ दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ।
प्रहरीले बरामद नगद सहित दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


