वीरगञ्ज– बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा दिपेश पटेल पछिल्लो समय स्थानीय समस्याको समाधानमा सक्रिय बनेपछि चर्चामा आएका छन्। टोलको बिग्रिएको बाटो मर्मत–सम्भारदेखि स्थानीयका दैनिक समस्यामा प्रत्यक्ष रूपमा खटिँदै आएका पटेलको सक्रियताको स्थानीयवासीले प्रशंसा गर्न थालेका छन्।
बहुअरी टोलमा बाटोको अवस्था लामो समयदेखि जीर्ण हुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको थियो। वर्षायाममा बाटोमा पानी जम्ने, हिलो हुने तथा सडक बिग्रिँदा पैदलयात्रीदेखि सवारीसाधनसम्मलाई आवतजावतमा कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीय छोटेलाल पटेल, लालबाबु यादव, सन्दीप पटेल लगायतको बस्ती रहेको क्षेत्रमा बाटोको समस्या देखिएपछि दिपेश पटेल आफैं सक्रिय भएर मर्मत–सम्भारको काममा जुटेका हुन्। उनले स्थानीयको समस्या बुझ्दै आवश्यक स्थानमा बाटो मर्मत गरी सहज आवतजावतको वातावरण बनाउन पहल गरेका छन्।
स्थानीय समस्याको समाधानका लागि सम्बन्धित निकायको मात्रै मुख ताक्नु भन्दा आफूले सक्ने काम आफैंबाट सुरु गर्नुपर्ने धारणा राख्दै पटेल निरन्तर टोलका विभिन्न समस्यामा सक्रिय हुँदै आएका छन्। उनको यही सक्रियताले स्थानीयस्तरमा उनको नेतृत्व क्षमताको समेत चर्चा हुन थालेको छ।
पटेलले बहुअरी टोलको विकास र मुहार परिवर्तन गर्ने उद्देश्यले आफू निरन्तर काम गरिरहेको बताएका छन्। टोलमा बाटो, सरसफाइ, पूर्वाधार तथा स्थानीयका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर क्रमशः समाधानका लागि पहल गर्ने उनको भनाइ छ।
स्थानीयवासीका अनुसार दिपेश पटेलको प्रत्यक्ष सहभागिता र श्रमदान सहितको सक्रियताले टोलका समस्या समाधान प्रति सकारात्मक सन्देश दिएको छ। जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गर्दै स्थानीय आवश्यकता पहिचान गरी काम अघि बढाउन सके बहुअरी टोलको विकासले गति लिने अपेक्षा गरिएको छ।
स्थानीय समस्यामा प्रत्यक्ष रूपमा खटिने र समाधानका लागि पहल गर्ने पटेलको अभियानले पछिल्लो समय बहुअरीमा विकास र नेतृत्वको नयाँ बहस समेत सुरु भएको स्थानीयको भनाइ छ।


