Birgunj News24
रौतहटमा विद्युत् सर्टबाट आगलागी, ९ वटा ग्यास सिलिन्डर पड्किए।

रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवा गाउँनजिकै सोमबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा ९ वटा ग्यास सिलिन्डर पड्किएका छन्।

स्थानीयका अनुसार दुधिअवा गाउँनजिकै दीपेन्द्र भक्त खरेलको घरमा इँटा उद्योगमा काम गर्ने मजदुरहरूको सुविधाका लागि ग्यास सिलिन्डर तथा अन्य सामग्री राखिएको स्थानमा बिहान करिब ७ः१५ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।

आगलागी भएपछि त्यहाँ राखिएका ग्यास सिलिन्डर पड्किँदा आगो थप फैलिएको थियो। आगलागीबाट घरमा रहेका घरायसी सामग्रीसहित अन्य सरसामान जलेर नष्ट भएका छन्।

प्रारम्भिक अनुमानअनुसार घटनामा करिब १८ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दमकल परिचालन गरिएको थियो। उनीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक राजेश खत्रीले जानकारी दिए।

घटनामा मानवीय क्षति भएरनभएकोबारे भने थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update