२५ साउन, रौतहट । रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा अवैध लागूऔषध गाँजाको कारोबार गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेका छन् ।
साहले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए । उक्त खाजा घरबाट स(साना पुरिया बनाएर गाँजा बिक्री वितरण भइरहेको विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले छापा मारेको थियो ।
प्रहरी टोलीले खाजा घरमा खानतलासी गर्दा काउन्टरको च्याकमा कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।बिक्रीका लागि तयारी अवस्थामा राखिएका १२५ पुरिया गरी कुल ७ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० बसन्त गौतमले जानकारी दिए ।
गाँजासहित नियन्त्रणमा लिइएका साहमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


