२४ साउन, वीरगञ्ज । डिभिजन वन कार्यालय बाराले आफ्नो नर्सरीमा उत्पादन गरेका ५ हजार बिरुवा छिमेकी जिल्ला पर्सा र रौतहटका स्थानीय तहलाई निःशुल्क उपलब्ध गराएको छ ।
वृक्षारोपण अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहको मागअनुसार बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।
कार्यालयका अनुसार रौतहटको परोहा नगरपालिकालाई २ हजार र पर्साको जगरनाथपुर गाउँपालिकालाई ३ हजार बिरुवा पठाइएको हो । दुवै स्थानीय तहले सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्न बिरुवा माग गरेका थिए ।
परोहा नगरपालिकाले आफ्नो क्षेत्रमा सडक किनार तथा सार्वजनिक र निजी जग्गामा हरियाली विस्तारका लागि बिरुवा माग गरेको थियो । जगरनाथपुर गाउँपालिकाले पनि सडक किनारसहित सार्वजनिक तथा निजी क्षेत्रमा वृक्षारोपण गरी हरित क्षेत्र विस्तार गर्ने उद्देश्यले बिरुवा माग गरेको वन कार्यालयले जनाएको छ ।
बारामा उत्पादन हुने विभिन्न प्रजातिका बिरुवाको माग छिमेकी जिल्लाबाट नियमित रूपमा आउने गरेको वन कार्यालयले जनाएको छ । विशेषगरी बारासँग सीमा जोडिएका रौतहटको दक्षिणी भेग र पर्साको उत्तरी क्षेत्रमा बाराको नर्सरीमा उत्पादन हुने बिरुवाको माग बढी हुने गरेको छ ।
भौगोलिक अवस्था र हावापानीमा समानता रहेकाले बारामा उत्पादन गरिएका वन प्रजातिका बिरुवा पर्सा र रौतहटका विभिन्न क्षेत्रमा वृक्षारोपणका लागि उपयुक्त हुने वन कार्यालयको भनाइ छ । यही कारण स्थानीय तह, सार्वजनिक निकाय तथा विभिन्न संघसंस्थाले बाराको नर्सरीबाट बिरुवा माग गर्दै आएका छन् ।
निःशुल्क बिरुवा उपलब्ध गराउँदा स्थानीय तह र समुदायलाई वृक्षारोपण अभियान सञ्चालन गर्न सहज हुने तथा सार्वजनिक र निजी जग्गामा हरियाली विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक किनारमा वृक्षारोपण विस्तार हुँदा वातावरण संरक्षण, सडक सौन्दर्यीकरण र हरित क्षेत्र विस्तारमा समेत योगदान पुग्ने वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराले आफ्ना नर्सरीमा उत्पादन भएका बिरुवा मागअनुसार जिल्लाभित्रका साथै छिमेकी जिल्लाका स्थानीय तहलाई समेत उपलब्ध गराउँदै आएको छ । यसले स्थानीय तहबीच वातावरण संरक्षण तथा वृक्षारोपणका क्षेत्रमा सहकार्य बढाउन सहयोग पुग्ने कार्यालयको विश्वास छ ।


