Birgunj News24
रौतहटमा १७ ग्यास डिलरमा प्रशासनको छड्के अनुगमन।

रौतहट, २४ साउन । खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणाली व्यवस्थित बनाउन रौतहटमा १७ वटा ग्यास डिलर तथा विक्रेताका पसलमा छड्के अनुगमन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा सुरक्षा निकायसहितको टोलीले जिल्लाका विभिन्न बजार क्षेत्रमा रहेका ग्यास डिलर तथा विक्रेताको पसलमा आकस्मिक अनुगमन गरेको हो ।

प्रशासनका अनुसार दुईवटा टोली परिचालन गरी गौर, गरुडा र चन्द्रनिगाहपुरलगायतका क्षेत्रमा रहेका १७ वटा डिलर तथा विक्रेताको पसल निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यासलगायतका डिलरमा पुगेर ग्यासको मौज्दात, आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिइएको थियो ।

अनुगमनका क्रममा अधिकांश विक्रेताका स्टोरमा भरिएका सिलिन्डरभन्दा खाली सिलिन्डरको संख्या बढी रहेको पाइएको प्रशासनले जनाएको छ । व्यवसायीहरूले उद्योगबाट मागअनुसार पर्याप्त ग्यास आपूर्ति हुन नसकेको बताएका थिए ।

व्यवसायीका अनुसार ग्यास प्राप्त भएपछि प्रहरीको रोहबरमा पसल अगाडिबाटै उपभोक्तालाई वितरण गर्ने गरिएको छ । प्रशासनको टोलीले ग्यास आपूर्तिमा भइरहेको समस्या तथा मागअनुसार पर्याप्त परिमाणमा ग्यास नआउनुको कारणबारे समेत व्यवसायीसँग जानकारी लिएको थियो ।

अनुगमन टोलीले ग्यास उपलब्ध भएपछि उपभोक्तालाई पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ । कृत्रिम अभाव सिर्जना नगर्न, उपभोक्तालाई अनावश्यक दुःख नदिन तथा प्राप्त ग्यासको न्यायोचित वितरण गर्न पनि व्यवसायीलाई सचेत गराइएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीसहित स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

ग्यासको आपूर्ति, भण्डारण र वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रशासनले नियमित अनुगमनसँगै आकस्मिक छड्के अनुगमनलाई निरन्तरता दिने जनाएको छ । उपभोक्ताको गुनासो तथा बजारमा ग्यासको उपलब्धता र वितरणको अवस्थाका आधारमा जुनसुकै बेला अनुगमन गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update