Birgunj News24
सडक विस्तारसँगै वीरगञ्ज महानगरमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र।

​वीरगञ्ज — सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।
​महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगरभित्रका बिग्रिएका सडक मर्मत र अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गरिएको हो।
​खासगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोगले बनेका खाल्डाखुल्डी र चुँडिएका तारका कारण सर्वसाधारण तथा सवारीचालकले सास्ती भोग्दै आएका थिए। नागरिकको सोही असुविधालाई ध्यानमा राख्दै तत्काल समाधानका लागि महानगरले यो विशेष कदम चालेको हो।
​सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने र बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने तथा अलपत्र तारहरू हटाउने काम भइरहेको छ। महानगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउन यो अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
​महानगरको यस सक्रियतासँगै मुख्य बजार क्षेत्रको यातायात आवागमन सहज हुनुका साथै सम्भावित दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update