वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलबाट प्रहरीले ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८३ साल साउन २३ गते राति करिब ११ः५५ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी अमरपट्टी, बीओपी प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरिरहेको थियो।
सो क्रममा इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि ३ वटा मोटरसाइकल र ३ वटा झोला झाडीमा फालेर भागेका थिए। संयुक्त टोलीले खोजी गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
झोलाहरू जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलबाट छाडिएका तीनवटै मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद पदार्थ गाँजा हो वा होइन भन्ने सम्बन्धमा आवश्यक परीक्षण तथा अनुसन्धान भइरहेको छ।


