काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगको अनुगमन गरेकी छन्।
मन्त्री यादवले शनिबार काठमाडौंको बालाजु स्थित नेपाल ग्यास उद्योगमा पुगेर उद्योगको अवस्था तथा ग्यास आपूर्तिबारे अनुगमन गरेकी हुन्।
मन्त्री यादवको सचिवालयका अनुसार पछिल्लो समय उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा पाउन नसकेको भन्दै व्यापक गुनासो गरेपछि उद्योगको स्थलगत अनुगमन गरिएको हो।
अनुगमनका क्रममा उद्योगमा रहेको ग्यासको मौज्दात, वितरणको अवस्था तथा बजारमा आपूर्ति सहज बनाउन भइरहेका व्यवस्थाबारे जानकारी लिइएको बताइएको छ।
ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला मन्त्री स्वयं उद्योगमै पुगेर अनुगमन गरेकी हुन्। सरकारले बजारमा ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ।


