जनकपुरधाम । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएपछि अचानक आगलागी भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको भए पनि घटनामा कुनै मानवीय क्षति भएको छैन। दुर्घटनापछि केही समय प्रभावित बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


