वीरगञ्ज, २० साउन। जिल्ला प्रहरी कार्यालय पर्साले विगत करिब तीन महिनादेखि हुण्डी कारोबार सम्बन्धी बरामद रकम तथा अनुसन्धानको प्रगति सार्वजनिक नगरेपछि प्रहरीको कार्यशैलीमाथि विभिन्न प्रश्न उठ्न थालेका छन्।
यसअघि पर्सा प्रहरीले समय–समयमा हुण्डी कारोबारविरुद्ध सञ्चालन गरेका कारबाही, बरामद भएको नगद, पक्राउ परेका व्यक्तिको विवरण तथा अनुसन्धानको अवस्थाबारे नियमित रूपमा सञ्चारमाध्यममार्फत जानकारी गराउने गरेको थियो। तर पछिल्ला तीन महिनायता यस्ता विवरण सार्वजनिक हुन छाडेपछि सीमा क्षेत्रमा हुण्डी नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ वा छैन भन्ने विषयमा स्थानीयवासी, व्यवसायी तथा सरोकारवालाले चासो व्यक्त गर्न थालेका छन्।
वीरगञ्ज–रक्सौल सीमा क्षेत्रमा दैनिक ठूलो परिमाणमा अनौपचारिक वित्तीय कारोबार हुने गरेको विभिन्न निकायले बताउँदै आएका छन्। यस्तो अवस्थामा प्रहरीले हुण्डी नियन्त्रण सम्बन्धी तथ्याङ्क नै सार्वजनिक नगर्नुले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको सरोकारवालाको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यस अवधिमा कुनै हुण्डी कारोबार फेला नपरेको हो वा कारबाही भए पनि विवरण सार्वजनिक नगरिएको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन। यसले प्रहरीको अनुसन्धान र सूचना व्यवस्थापनलाई लिएर विभिन्न अड्कलबाजीसमेत बढाएको छ।
यसैबीच, तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठक र तत्कालीन सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतको कार्यकालमा हुण्डी नियन्त्रण सम्बन्धी विवरण सार्वजनिक हुन छाडेकाले उनीहरूको भूमिकाबारे पनि विभिन्न तहमा प्रश्न उठिरहेका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार खुला सीमाको फाइदा उठाउँदै हुण्डी कारोबार निरन्तर हुने गरेको चर्चा रहँदा प्रहरीबाट त्यससम्बन्धी आधिकारिक सूचना नआउनुले जनविश्वासमा असर पर्न सक्ने अवस्था सिर्जना भएको छ।
सरोकारवालाले हुण्डी नियन्त्रण अभियानको वास्तविक अवस्था, बरामद रकम, पक्राउ परेका व्यक्तिको विवरण तथा अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक निकायको पारदर्शिता र सूचना प्रवाह नै जनविश्वास कायम गर्ने प्रमुख आधार भएकाले यस विषयमा प्रहरी नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक देखिएको छ।


