Birgunj News24
भवनहरु भत्किँदा सडक अवरुद्ध, छरपस्ट विद्युत् तारले स्थानीय त्रसित

वीरगञ्ज, १९ साउन। वीरगञ्जको घना बस्ती क्षेत्रमा रहेको एउटा पुरानो भवन भत्किएपछि इँटा, ढुंगा र निर्माण सामग्री सडकमा छरपस्ट हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। भवन भत्किँदा विद्युत् तथा इन्टरनेटका तारसमेत सडकमा झुन्डिएको देखिएको छ, जसका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले तत्काल व्यवस्थापनको माग गरेका छन्।

भवन भत्किएपछि ठूलो परिमाणमा इँटा र भग्नावशेष सडकमा थुप्रिएको छ। भवनबाट झुन्डिएका विद्युत् तथा सञ्चारका तार अव्यवस्थित अवस्थामा रहेकाले पैदलयात्री र सवारीसाधन जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। साँघुरो सडकमा मलबा थुप्रिँदा स्थानीयलाई दैनिक आवागमनमा कठिनाइ भएको छ।

स्थानीयका अनुसार सम्बन्धित निकायले समयमै मलबा नहटाउँदा दुर्घटनाको जोखिम झन् बढेको छ। उनीहरूले सडक तत्काल सफा गर्न, झुन्डिएका तार सुरक्षित रूपमा व्यवस्थापन गर्न तथा आसपासका घरको सुरक्षाको समेत सुनिश्चितता गर्न माग गरेका छन्।

एक स्थानीयले भने, “भवन भत्किएपछि सडक नै बन्दजस्तै भएको छ। बालबालिका र वृद्धवृद्धालाई हिँडडुल गर्न निकै गाह्रो भएको छ।”

अर्का स्थानीयको भनाइ छ, “विद्युत् र इन्टरनेटका तार यसरी झुन्डिएको अवस्था निकै जोखिमपूर्ण छ। सम्बन्धित निकायले तत्काल मलबा हटाएर सुरक्षित वातावरण बनाउनुपर्छ।

स्थानीयवासीले ढलेका संरचना र छरिएका तारका कारण कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै महानगरपालिका, विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update