Birgunj News24
बालबालिका विरुद्धको कसुर अनुसन्धानमा सहयोग गर्न प्रहरीको आग्रह, अपुष्ट सूचना प्रसारण नगर्न अनुरोध।

वीरगञ्ज, १९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुर सम्बन्धी अनुसन्धान जारी रहेका बेला अपुष्ट, भ्रामक तथा एकपक्षीय समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलमा बालबालिकाविरुद्धको कसुर भएको भन्दै किटानी जाहेरी परेपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

प्रहरीले सोही दिन राधेमाई टोल निवासी ३२ वर्षीय निखिल सिंह राजपुतलाई नियन्त्रणमा लिई प्रचलित कानून, अनुसन्धानका स्थापित सिद्धान्त तथा उपलब्ध प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया पूरा नहुँदै अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित तथा प्रसारित समाचारले अनुसन्धानमा प्रतिकूल असर पार्न सक्ने, सम्बन्धित पक्षहरूको अधिकार प्रभावित हुन सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना हुने जोखिम रहन्छ।

यही कारणले आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साले निष्पक्ष, पारदर्शी र कानूनसम्मत अनुसन्धानप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुसन्धान सम्पन्न भएपछि कानूनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update