वीरगञ्ज, साउन १८ — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको अवधिमा सञ्चालन गरेको विशेष चेकजाँच तथा निगरानी अभियानका क्रममा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा तिनको ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार साउन १७ र १८ गते नं. १३ गण मुख्यालय पर्सा, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज, बीओपी सिर्सिया तथा सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुरबाट खटिएका टोलीहरूले पर्साका विभिन्न सीमा क्षेत्रमा विशेष सूचनाका आधारमा कारबाही सञ्चालन गरेका थिए।
कारबाहीका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटर पार्ट्स (सीपीयू प्रोसेसर), मोटरसाइकलका पार्ट्स, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायतका सामान तथा म्याजिक भ्यान, टाँगा र घोडासमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यो कारबाही वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोक, वडा नं. १६ इनर्वा र भकुवा तथा वडा नं. १ छप्कैयालगायतका सीमा क्षेत्रमा गरिएको हो।
बरामद गरिएका सम्पूर्ण सामान तथा प्रयोग भएका सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।


