काठमाडौं, १८ साउन । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा देशभरबाट ३ हजार ३१६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार १ वैशाखदेखि असार मसान्तसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ५११ जना, कोशी प्रदेशबाट ७१३ जना, मधेश प्रदेशबाट २५५ जना, बागमती प्रदेशबाट ४२८ जना, गण्डकी प्रदेशबाट १८९ जना, लुम्बिनी प्रदेशबाट ५११ जना, कर्णाली प्रदेशबाट १२१ जना, सुदूरपश्चिम प्रदेशबाट ४५७ जना तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट १३१ जना रहेका छन्।
उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध समेत बरामद गरेको छ। बरामद लागूऔषधमा ८ हजार ६३२ किलो ६८३ ग्राम ६९१ मिलिग्राम गाँजा, ३१ किलो १६८ ग्राम ६७१ मिलिग्राम चरेस, ५ किलो ७९२ ग्राम १२० मिलिग्राम कोकिन, ११ किलो ८९४ ग्राम १६५ मिलिग्राम हेरोइन, १२७ किलो १६० ग्राम १३७ मिलिग्राम अफिम तथा २१ किलो ६४६ ग्राम पोलेन रहेका छन्।
त्यसैगरी प्रहरीले ९ लाख ७६ हजार ६२६ ट्याब्लेट ट्रामाडोल, १९ हजार ११० ट्याब्लेट नाइट्राभेट, ३३ हजार ३०९ ट्याब्लेट स्पास्मो, ९ हजार ५५३ एम्पुल डाइजेपाम, १६ हजार ६५४ एम्पुल फेनारगन र ८ हजार १३० एम्पुल बुप्रेनोर्फिन पनि बरामद गरेको जनाएको छ।
प्रहरीले लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिएको जनाएको छ। साथै, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट समाज तथा व्यक्तिमा पर्ने नकारात्मक असरबारे विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।


