Birgunj News24
गृहमन्त्री गुरुङको अगुवाइमा जनकपुरमा हिन्दु धार्मिक मोर्चा र सरकारबिच सहमति।

जनकपुरधाम, १७ साउन । जनकपुरमा वार्तारत गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति जुटेको छ । 

विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार जनकपुर आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भूदेव झाले दुवै पक्ष बिच सहमति कायम भएको बताए । आन्दोलनरत पक्षले सरकार टोली समक्ष विभिन्न बुँदा समेटिएको  १३ बुँदे माग पत्र राखेका थिए ।
सहमति पश्चात् १२ वटा माग तत्काल पुरा गर्ने तर्फ सरकारले गृहकार्य अगाडि बढाउने भएको छ । आन्दोलनरत पक्षले नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग पनि राखेकाले सरकारले ३ महिनाको समय माग गरेपछि त्यसमा सबैको सहमति जुटेको थियो ।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधि सभा सदस्य, मधेस प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो भने आन्दोलनमा उत्रिएका विभिन्न १ दर्जन बढी धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू वार्तामा सहभागी थिए । 

सुनसरी घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले विभिन्न माग सहित नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । 
शनिबार आयोजित सर्वपक्षीय सद्भाव र्‍याली आन्दोलनरत युवाहरूले कार्यक्रम स्थलमै चर्का नाराबाजी गरेका थिए । कार्यक्रम स्थलमै नाराबाजी हुन थालेपछि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मनिष झाले आन्दोलनरत पक्षसँग छलफलमा जुटेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update