Birgunj News24
व्यक्तिगत विवादका क्रममा युवकमाथि कुटपिट, एकजना पक्राउ अफवाह नफैलाउन प्रहरीको आग्रह।

वीरगञ्ज, १६ साउन — पर्साको वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाह चोकमा भएको कुटपिट घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः३५ बजे वीरगञ्ज–२ ईदगाह चोकको भित्री सडक खण्डमा वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले व्यक्तिगत विवादका विषयलाई लिएर वीरगञ्ज–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि कुटपिट गरेका थिए। घटनामा यादवको ओठ र नाकमा चोट लागेको र उनलाई तत्काल उपचारका लागि प्रभु अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न समिर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, घटनाबारे अनुसन्धान जारी रहेका बेला सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सामाजिक सद्भाव बिथोल्ने किसिमका भ्रामक सूचना र समाचार सम्प्रेषण भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले सत्यतथ्य पुष्टि नगरी अफवाह फैलाउने कार्य नगर्न सबैमा आग्रह गरेको छ।

प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै सञ्चारकर्मी र सर्वसाधारणलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update