Birgunj News24
घुस लिएको आरोपमा तीन नासुसहित पाँच जना पक्राउ।

काठमाडौं, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नायब सुब्बा ९नासु० सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट तीन लाख रुपैयाँ नगद बरामद भएको अख्तियारले जनाएको छ।

पक्राउ पर्नेमा कार्यालयका नासु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि नियन्त्रणमा लिइएको छ।

अख्तियारका अनुसार जग्गाको बकसपत्र दर्ता गराइदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएर घुस मागिएको भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो। त्यसक्रममा उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो।

कारबाहीका क्रममा तीन लाख रुपैयाँ घुस रकमसहित स्रोत खुल्न नसकेको थप २५ हजार रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update