Birgunj News24
सिमरा सेजमा ४५ करोडका सेवा भवन अलपत्र, प्रयोग नहुँदा खण्डहर बन्दै पूर्वाधार।

बारा, १५ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरा विशेष आर्थिक क्षेत्र ९सेज० भित्र करिब ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएका सेवामूलक भवनहरू प्रयोगमा नआउँदा विस्तारै जीर्ण बन्दै गएका छन्। उद्योगीलाई आवश्यक पर्ने एकीकृत सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका यी संरचनाहरू सञ्चालनमा आउन नसक्दा अहिले झाडीले ढाक्न थालेका छन् भने भवनका झ्याल–ढोका र अन्य संरचनासमेत क्षतिग्रस्त हुन थालेका छन्।

सेजको ब्लक ‘ए’ मा उद्योग स्थापना गर्ने क्रम तीव्र भइरहे पनि त्यससँगै सञ्चालन हुनुपर्ने बैंक, भन्सार, बीमा, हुलाक, पोलिक्लिनिक, डे–केयर लगायतका सेवामूलक कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्। यसका कारण करोडौंको लगानीमा निर्माण गरिएका सातवटा भवन उपयोगविहीन अवस्थामा रहेका छन्।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिमरा कार्यालयका अनुसार दुई वर्षअघि नै ती भवन सञ्चालनका लागि इच्छुक संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो। केही बैंक तथा वित्तीय संस्थाले चासो देखाए पनि उनीहरूको आवश्यकता भन्दा भवनको आकार ठूलो भएकाले सम्झौता हुन नसकेको सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीले बताए।

उनका अनुसार सेवामूलक संस्थाहरू नआएपछि सेजभित्र सञ्चालनमा रहेका तथा निर्माणाधीन उद्योगहरूलाई कार्यालय प्रयोजनका लागि भवन उपलब्ध गराउने नीति पनि अघि सारिएको छ। तर, उद्योगीहरूले समेत हालसम्म ती भवन प्रयोग गर्न रुचि नदेखाएको उनले जानकारी दिए।

सेज परिसरमा प्रशासनिक भवनसहित भन्सार, बैंक, बीमा, हुलाक, पोलिक्लिनिक र डे–केयर सञ्चालन गर्ने उद्देश्यले सातवटा भवन निर्माण गरिएका थिए। तीमध्ये प्रशासनिक भवन भने साउन महिनाको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

उद्योग स्थापना भने अपेक्षाकृत अघि बढिरहेको छ। ब्लक ‘ए’ मा निर्माण हुने २२ उद्योगमध्ये हाल ६ उद्योगले उत्पादन सुरु गरिसकेका छन्। थप १० उद्योग अन्तिम चरणको निर्माणमा छन् भने बाँकी ६ उद्योगले पूर्वाधार निर्माणको तयारी गरिरहेका छन्।

उद्योग स्थापना हुँदै गए पनि त्यसलाई आवश्यक पर्ने सहायक सेवा संरचना सञ्चालनमा नआउँदा सेजको मूल अवधारणा नै प्रभावित भएको देखिन्छ। समयमै उपयोगको योजना नबनाइए करोडौं रुपैयाँको सार्वजनिक लगानीमा बनेका पूर्वाधार पूर्ण रूपमा जीर्ण हुने जोखिम बढ्दै गएको भन्दै स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update