वीरगञ्ज, १५ साउन । वीरगञ्जमा शुक्रबार स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा सम्पन्न भएको सद्भाव र्यालीपछि घण्टाघर आसपासको क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ। र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि त्यसलगत्तै केही युवाहरूले विभिन्न जिल्लामा हालै भएका साम्प्रदायिक घटनाको विरोध जनाउँदै प्रदर्शन गरेपछि स्थिति केही समय असहज बनेको हो।
हिन्दु समुदायका केही युवाहरूले सुनसरी, सिराहा लगायतका स्थानमा भएका घटनाप्रति असन्तुष्टि जनाउँदै घण्टाघर क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सडकमा आवागमनसमेत केही समय प्रभावित भएको थियो।
स्थिति थप जटिल बन्न नदिन प्रहरी तत्काल परिचालित भएको थियो। प्रदर्शनकारीलाई सडक खाली गर्न र शान्तिपूर्ण रूपमा आफ्नो विरोध व्यक्त गर्न आग्रह गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको जनाइएको छ। यद्यपि ठूलो झडप वा मानवीय क्षतिको घटना भने भएको छैन।
संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा तथा अन्य सुरक्षा निकायले वीरगञ्जका मुख्य चोक, धार्मिक रूपमा संवेदनशील क्षेत्र र बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएका छन्। अतिरिक्त प्रहरी परिचालन गर्नुका साथै सम्भावित अप्रिय घटना रोक्न निगरानीसमेत बढाइएको छ।
यसअघि स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागितामा सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको थियो। सहभागीहरूले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक सहअस्तित्वलाई कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए।
प्रशासनले पछिल्ला घटनालाई लिएर अफवाह फैलाउने, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने वा साम्प्रदायिक सद्भाव बिग्रने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेको छ। साथै, कुनै पनि समस्या वा असन्तुष्टि भए कानुनी र शान्तिपूर्ण माध्यमबाट आफ्ना धारणा राख्न तथा सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम राख्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।


