वीरगञ्ज, १४ साउन । पर्सा जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय देशका विभिन्न जिल्लामा विकसित प्रदर्शन, विरोध तथा त्यसबाट सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुजातीय, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्र भएकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।
प्रशासनले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै २०८३ साउन १५ गते बिहान ६ बजेसम्म लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरेको छ। अनावश्यक रूपमा घर बाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
यस्तै, सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति–सुरक्षामा असर पर्ने किसिमका समाचार, अफवाह, फोटो तथा भिडियो पोस्ट, शेयर वा टिप्पणी नगर्न चेतावनी दिइएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले कुनै पनि विवाद वा असहमतिको समाधान कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादबाट मात्र गर्न आग्रह गर्दै कानुन हातमा नलिन, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सबै नागरिकसँग अपिल गरेको छ।
अपिलको अन्त्यमा विविधतामा एकता नै पर्साको पहिचान र शक्ति भएको उल्लेख गर्दै प्रशासनले सबै पक्षलाई संयम, जिम्मेवारी र आपसी सद्भाव कायम राखी जिल्लाको शान्ति र सुरक्षा संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।


