Birgunj News24
वीरगञ्जको मुख्य क्षेत्रमा पनि निषेधाज्ञा जारी, सभा–जुलुस गर्न रोक।

१४ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम साउन १५ गते साँझ ५ बजेदेखि साउन १६ गते बिहान ६ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।

आदेशमा वीरगञ्जका चार किल्लाभित्र पाँच वा सोभन्दा बढी व्यक्तिहअरु भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञाको सीमा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

प्रशासनले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update