काठमाडौं, १४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत विभिन्न क्षेत्रमा हालै भएका सामुदायिक तनाव र विवादप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा उनले सुनसरीमा भएको द्वन्द्वका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य जिल्लासम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएकाले यही विविधता नै राष्ट्रको पहिचान र शक्ति भएको उल्लेख गर्दै उनले यसमा कुनै पनि प्रकारको विभाजन वा असहिष्णुताले स्थान पाउन नहुने बताएका छन्।
पूर्वराजा शाहले नेपाली समाजको मूल आधार आपसी मेलमिलाप, सहिष्णुता र सद्भाव रहेको उल्लेख गर्दै यस्ता अवाञ्छित घटनाले मुलुकको सामाजिक एकतालाई कमजोर पार्ने भएकाले सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्नेमा जोड दिएका छन्।
उनले देशको जुनसुकै भूभागमा रहे पनि सबै नेपालीले एकता, सहकार्य र भाइचाराको भावना कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै शान्ति, सद्भाव र सामाजिक एकता नै वर्तमान परिस्थितिको मुख्य आवश्यकता भएको बताएका छन्।


