Birgunj News24
वीरगञ्जका अस्पतालमा चार दिनपछि उपचार सेवा सुचारु।

वीरगञ्ज, १४ साउन, वीरगञ्ज । वीरगञ्जका अस्पतालहरूमा चार दिनदेखि अवरुद्ध रहेको उपचार सेवा बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले आकस्मिक सेवा बुधबार राति ९ बजेदेखि र ओपीडी सेवा बिहीबार बिहानदेखि पुनः सुरु गरेको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए ।
गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको घटनाको विरोधमा नारायणी अस्पतालसहित वीरगञ्जका सबै अस्पतालका चिकित्सकहरूले आइतबारदेखि आकस्मिकसहितका सबै सेवा बन्द गरेर आन्दोलन गरेका थिए । त्यसपछि देशभरका सरकारी अस्पतालका चिकित्सकहरूले पनि मंगलबारदेखि आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
बुधबार काठमाडौंमा नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन अन्त्य गर्ने वातावरण बनेको हो । त्यससँगै नारायणी अस्पताल घटनामा संलग्न व्यक्तिविरुद्ध अस्पताल प्रशासन र नेपाल चिकित्सक संघ नारायणी शाखाले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि चिकित्सकहरू काममा फर्किएका हुन् ।
प्रवक्ता डा. सिंहका अनुसार घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता सुरक्षा निकायबाट आएपद्धि हड्ताल स्थगित गर्दै सबै सेवा पुनः सञ्चालन गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । साथै आन्दोलनरत चिकित्सकसँग वार्ताका क्रममा दुव्र्यवहार गरेको आरोप लागेका पर्साका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ । उनको स्थानमा प्रहरी उपरीक्षक पवन भट्टराईलाई पर्साको जिम्मेवारी दिइएको छ ।
गत शनिबार उपचारका क्रममा वीरगञ्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित समूहले नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेको थियो । सो घटनाको विरोधमा सुरु भएको चिकित्सकहरूको आन्दोलन चार दिनपछि अन्त्य भएसँगै वीरगञ्जका अस्पतालहरूमा बिरामीले पुनः नियमित उपचार सेवा पाउन थालेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update