Birgunj News24
वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग।

वीरगन्ज, १३ साउन /
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि ठप्प पारिएको छ। वडाध्यक्षहरूले सामुहिक रूपमा विरोध जनाउँदै साउन १३ गते देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेका हुन्।
​गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं २५ निवासी राजकुमार कुर्मीको निधन भएको थियो। चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पतालमा विरोध जनाएका थिए। सोही घटनाको न्यायसम्मत समाधानका लागि पीडित परिवार र प्रशासनलाई सघाउने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको विचारलाई आधार बनाएर स्थानीय प्रहरी प्रशासनले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै धरपकड गरेको बताइएको छ।
​नगरवासीको हकहितका लागि आवाज उठाउने वडाध्यक्षमाथि नै प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। यसअघि साउन १२ गते पनि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चतुर्वेदीलाई तत्काल थुनामुक्त गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए।
​जनप्रतिनिधि स्तरबाट सामुहिक रूपमा ध्यानाकर्षण गराउँदा पनि प्रशासनले वडाध्यक्ष जस्तो संवेदनशील पदमा रहेका व्यक्तिलाई हालसम्म रिहा नगरेकाले बाध्य भएर सेवा ठप्प पार्ने कठोर कदम चाल्नुपरेको वडाध्यक्षहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
​साथै, पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल स-सम्मान रिहा नगरिए आगामी दिनमा थप कडा विरोधका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ। यस आन्दोलनबाट सिर्जना हुने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनुपर्ने वडाध्यक्षहरूले प्रष्ट पारेका छन्।
​यस बन्दका कारण वीरगन्ज महानगरका ३२ वटै वडाबाट प्रवाह हुने सिफारिस, दर्ता लगायतका दैनिक कामकाज प्रभावित भएका छन् भने सेवाग्राही मर्कामा परेका छन्। यद्यपि, अत्यावश्यक सेवाहरू भने सुचारु रहने बताइएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update