Birgunj News24
विद्यार्थीहरूको सिर्जनशीलता प्रवर्द्धन गर्न लायन्स क्लबद्वारा मेहन्दी प्रतियोगिता।

वीरगञ्ज, साउन १२। विद्यार्थीहरूमा लुकेको सिर्जनशील प्रतिभा, कला र सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यले लायन्स क्लबहरूको संयुक्त आयोजनामा एकदिने मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ।

लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम तथा लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोप्याकको संयुक्त आयोजनामा आज वीरगञ्जस्थित नवदिप एकेडेमीमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो कल्पनाशीलता, कलात्मकता र सीपलाई आकर्षक मेहन्दी डिजाइनमार्फत प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले डिजाइनको मौलिकता, कलात्मकता, सफाइ तथा समग्र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट प्रतियोगीहरूको छनोट गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ 'एस' का डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले यस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीहरूमा रहेको कला, क्षमता र आत्मविश्वासलाई उजागर गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो। उहाँले लायन्स क्लबले सेवा कार्यसँगै शिक्षा, कला, संस्कृति तथा सामाजिक सचेतनामूलक गतिविधिलाई निरन्तर प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले भावी पुस्ताको प्रतिभा विकास र सम्मानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमीकी चार्टर प्रेसिडेन्ट एवं जोन चेयरपर्सन लायन शुसिला साहले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै कला–संस्कृतिको संरक्षण, प्रवर्द्धन र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने बताउनुभयो।

प्रतियोगितामा पूर्णिमा उपाध्याय प्रथम, फिजा हवारी द्वितीय, अनुष्का शर्मा तृतीय तथा सृष्टि साह चौथो घोषित भएका थिए। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले पनि यस्ता कार्यक्रमले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ 'एस' अन्तर्गत एरिया नं. ३ का एरिया चिफ लायन सुनिल कुमार गुप्ता, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा साह कानु, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिमका अध्यक्ष लायन पीयूष दारूका, विभिन्न क्लबका पदाधिकारी, सदस्यहरू तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा आयोजकहरूले यस्ता सिर्जनात्मक तथा व्यक्तित्व विकासमूलक कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update