Birgunj News24
नारायणी अस्पताल संकटमा, आन्दोलनरत ६५ चिकित्सकले बुझाए राजीनामा।

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा गत शनिबारदेखि उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार राति र मंगलबार दिउँसोसम्म अस्पताल प्रशासनसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७० भन्दा बढी चिकित्सक कार्यरत रहेकामा ६५ जनाले सामूहिक राजीनामा दिएका छन्।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरूमाथि धक्कामुक्की तथा दुर्व्यवहार गरेको आरोप लागेपछि चिकित्सकहरू थप आक्रोशित बनेका थिए।

चिकित्सकहरूले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहलाई सामूहिक राजीनामा बुझाएको डा. सिंहले जानकारी दिए।

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो भने चिकित्सक डा. प्रमोद राममाथि निर्घात कुटपिट भएको थियो। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै वीरगञ्जका चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्।

सोमबार प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले पनि राजीनामा दिनुपर्ने माग गरेपछि विवाद चर्किएको थियो। त्यसपछि चिकित्सकहरू वार्ता छाडेर बाहिरिन खोज्दा प्रहरी र चिकित्सकबीच धकेलाधकेल भएको थियो।

घटनापछि चिकित्सकहरूले वार्ता बहिष्कार गर्दै जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update