श्रावण ११, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ।
आइतबार जारी विज्ञप्तिमार्फत मन्त्रालयले उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै लापरबाही वा कमजोरी भएको पुष्टि भए निष्पक्ष छानबिन गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
मन्त्रालयले घटनापछि अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै यस्ता गतिविधिले स्वास्थ्य सेवा प्रभावित हुने र सेवाग्राहीसमेत मारमा पर्ने उल्लेख गरेको छ।
स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित र निर्भय वातावरणमा काम गर्न दिन सबै पक्षलाई संयमता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। साथै, अस्पतालको सेवा नियमित र प्रभावकारी बनाउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अस्पतालको सेवा सुधार, स्वास्थ्यकर्मीको सुरक्षा तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।


