वीरगञ्ज, १० साउन
गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (Student Council) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै ब्याज (Badge) लगाई सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको वीरगञ्जस्थित श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा विद्यालयको विद्यार्थी नेतृत्वलाई औपचारिक रूपमा पदभार ग्रहण गराउँदै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्बन्धित पदअनुसार ब्याज लगाइदिएका थिए। यस अवसरमा स्वरा झा हेड गर्ल, अभिनव ठाकुर हेड ब्वाय, प्रियम कुमारी सिन्हा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), सिद्धार्थ कुमार मिश्रा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), अदिति पिठाकोटे मगर अतिरिक्त क्रियाकलाप (ECA) प्रमुख, बासु चौरसिया अतिरिक्त क्रियाकलाप प्रमुख, आर्या चौरसिया अनुशासन प्रमुख, अंकित कुमार अनुशासन प्रमुख, रिजन चापागाईं सामाजिक पहुँच प्रमुख, स्वस्तिका रौनियार सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता खेलकुद प्रमुख, अनिश चौधरी खेलकुद प्रमुख, जबेरिया खातुन भाषा प्रमुख, आलोक शाह भाषा प्रमुख, रुशाली माली श्रेष्ठ डिजिटल वेलनेस प्रमुख, अर्नव केजरीवाल डिजिटल वेलनेस प्रमुख, मेहविश प्रवीन सह–पाठ्यक्रम (CCA) प्रमुख तथा ऋषभ गुप्ता सह–पाठ्यक्रम (CCA) प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।
यसै अवसरमा विद्यालयका अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार विभिन्न ब्याज वितरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम नागरिक बन्न सहज हुने उल्लेख गरे। उनले विद्यार्थी परिषद्मा चयन भएका सबै विद्यार्थीहरूलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।
अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयको नेतृत्व विकास गर्ने महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उत्साहपूर्ण वातावरणमा सम्पन्न इन्भेस्टिचर समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, अनुशासन तथा सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।


