वीरगञ्ज, साउन १०
गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२, पर्सा को आयोजनामा "अन्तरविद्यालय कला महोत्सव–२०८३" भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
वीरगञ्जका १० प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको उक्त महोत्सवमा विद्यार्थी, शिक्षक तथा सहभागी विद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयहरूबीचको आपसी सद्भाव, सहकार्य तथा विद्यार्थीहरूमा रहेको सिर्जनशील प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले सबैको मन जित्न सफल भएको छ।
कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा नेपाल कमर्सियल आर्टिस्ट संघ, पर्साका अध्यक्ष श्री मनीष श्रेष्ठ लाई निमन्त्रणा गरिएको भए पनि उहाँ आफ्नी आमाको स्वास्थ्य उपचारका कारण आकस्मिक रूपमा कार्यक्रममा उपस्थित हुन सक्नुभएन। कार्यक्रममा उपस्थित सबैले उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
प्रमुख अतिथिको अनुपस्थितिमा हिन्दू संस्कृतिको पवित्र परम्पराअनुसार पञ्चकन्याको प्रतीकस्वरूप पाँच जना साना बालिकाहरूबाट दीप प्रज्वलन गराई महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटनको यो दृश्य उपस्थित सबैका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।
महोत्सवअन्तर्गत आयोजित विभिन्न पाँच समूहका कला प्रतियोगितामा बालबालिकाहरूले आफ्नो सिर्जनात्मक प्रतिभा प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगिताका निर्णायक तथा आइडियल एकेडेमीका प्रधानाध्यापक श्री विकास राई ले साना बालबालिकाहरूले प्रस्तुत गरेका उत्कृष्ट कलाकृतिको प्रशंसा गर्दै उनीहरूको प्रतिभा देखेर आफू अत्यन्त प्रभावित भएको बताउनुभयो। उहाँले कला शिक्षाको महत्वबारे प्रेरणादायी मार्गदर्शनसमेत प्रदान गर्नुभयो। विद्यालयले उहाँप्रति सम्मानस्वरूप 'टोकन अफ लभ' प्रदान गरेको थियो।
प्रतियोगिताको नतिजा यसप्रकार रहेको थियो :
समूह ‘क’ (नर्सरी): प्रथम– बिनिता चौरसिया (GHP Secondary School), द्वितीय– आकृति कुमारी (New Wave Secondary School) तथा तृतीय– अनुराधा कुशवाहा (Mini Land English Secondary School)।
समूह ‘ख’ (एल.के.जी.): प्रथम– अन्जुला राम (GHP Secondary School), द्वितीय– सोनिया मण्डल (विद्या सदन सेकेन्डरी स्कुल) तथा तृतीय– साइमा खातुन (विद्या सदन सेकेन्डरी स्कुल)।
समूह ‘ग’ (यू.के.जी.): प्रथम– सुन्दरम कलवार (GHP Secondary School), द्वितीय– आहान अली (विद्या सदन सेकेन्डरी स्कुल) तथा तृतीय– अनाया अली (विद्या सदन सेकेन्डरी स्कुल)।
समूह ‘घ’ (कक्षा १–२): प्रथम– अमन कुमार साह (GHP Secondary School), द्वितीय– शिवानी महतो (विद्या सदन सेकेन्डरी स्कुल) तथा तृतीय– साक्षी गुप्ता (GHP Secondary School)।
समूह ‘ङ’ (कक्षा ३–५): प्रथम– आरुषी कुमारी प्रजापति (मनकामना सेकेन्डरी स्कुल), द्वितीय– आरती सिंह (GHP Secondary School) तथा तृतीय– नैना कुमारी (New Wave Secondary School)।
विजेता विद्यार्थीहरूलाई सहभागी विद्यालयका सम्माननीय प्रधानाध्यापकहरूको हातबाट शील्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। यसरी महोत्सवमा सहभागी एक जना पनि विद्यार्थी खाली हात फर्किनु परेन, जसले आयोजकको सबै सहभागीप्रति समान सम्मानको भावनालाई झल्काएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका कक्षा १० का विद्यार्थी आयान अन्सारी ले प्रस्तुत गरेका थिए भने सम्पूर्ण कार्यक्रमको आकर्षक सञ्चालन कक्षा ८ की छात्रा अफ्रिन खातुन ले गरेकी थिइन्।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्री लालबहादुर गुरुङ ले गर्नुभएको थियो। समापन समारोहमा प्रधानाध्यापक गुरुङले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, निर्णायक, सहभागी विद्यालयका प्रधानाध्यापक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
गुरुपूर्णिमाको अवसरमा सम्पन्न यस अन्तरविद्यालय कला महोत्सव–२०८३ ले वीरगञ्जका १० प्रतिष्ठित विद्यालयबीच शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बालबालिकामा रहेको सिर्जनशील प्रतिभाको पहिचान, प्रोत्साहन तथा कला शिक्षाप्रतिको अभिरुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।


