Birgunj News24
शिशुको डाइपरमा ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने तीन जना पक्राउ।

आफ्नै छोराले लगाएको डाइपरभित्र लागुऔषध ब्राउन सुगर भित्राउने बुबा-आमासहित तीनजना प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५:१५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा अटो चालक भारत किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका-५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, सोही ठाउँका ३८ वर्षीय मोहम्मद तजरुल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले आफ्नै दुई महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएका थिए । बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर उनीहरू भद्रपुर नाका आइपुगेका थिए । अटो मेची पुलमा राखेर उनीहरू ब्राउन सुगर खरिद गर्न गलगलिया पुगेका थिए । 

त्यहाँबाट खरिद गरेका ब्राउन सुगरको सानो पोकालाई बच्चाले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए । प्रहरीले चेकजाँच गर्दा डाइपरमा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

यता वडा प्रहरीले बच्चासहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update