Birgunj News24
कल्पना पटवारी र चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ विमोचन।

वीरगञ्ज, ४ साउन।
चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक विशेष समारोहबीच विमोचन गरिएको छ।
वीपीसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साहको प्रमुख आतिथ्यता र लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा गीत सार्वजनिक गरिएको हो।
गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकको पारिवारिक जीवन र भावनात्मक पक्षलाई केन्द्रमा राखेर गीत तयार गरिएको बताए। चर्चित गायिका कल्पना पटवारीको स्वरले गीतलाई थप प्रभावशाली बनाएको उल्लेख गर्दै उनले दर्शक–श्रोताले गीतलाई मन पराउने विश्वास व्यक्त गरे।
उनका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको उक्त गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित गीतहरू निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए।
कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, विभा साह, धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गरेका थिए।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update